Tuesday, September 22, 2009

दुनियाँको नजरमा

दुनियाँको नजरमा खास हुनु तिमी
हुनु कि धर्ती कि आकाश हुनु तिमी
भर गरोस् दुनियाँले तिम्रो कर्म माथि
हुनु सबको आश, बिश्वास हुनु तिमी
सदियौंमा कर्म योद्धा माग्छ जगतले
हो यही जगतको दास हुनु तिमी
चरित्र यस्तो बनाउ शितलता दिने
न की शिशिर सदा मधुमास हुनु तिमी
सत्य अजय छ सत्यतामा बाँच सदा
भए हुनु बरु लास हुनु परे पनि तिमी

Tuesday, September 15, 2009

तिमी जाँदा


तिमी जाँदा दुख्यो छाती दुखेको तोडमा रोएँ
म रोएँ जिन्दगीको यो अनौठो मोडमा रोएँ
चल्यो आँधी लग्यो सारा खुशी मेरो उडाएरै
गरी नाटक् रमाएको, म ज्यूँने होडमा रोएँ
गरेँ मैले हिसाबै यो अपूरो त्यो कहानीको
घटाऊमै म रोएँ है, कैले म जोडमा रोएँ
कहाँ पुग्ने कसो गर्ने कसोरी पो छिचोल्ने खै ?
अँधेरीमै हराएँ लौ, र एक्लै रोडमा रोएँ

Monday, September 14, 2009

गजल

हजुर यसैपाली


बसन्तको हरियाली फूलै फूलको डाली

मनै भरी खुशियाली पाएं हजुर यसैपाली ।

रातै भरी जुनेलीमा जूनसंगै नुहाएकी
चन्द्रमुखी मुहारैमा टिका रातो सुहाएकी

बसिदियौ मेरो मनमा उमंगको दियो बाली
मनै भरी खुशियाली पाएं हजुर यसैपाली ।

थुँगाथुँगा टिपी फूलको सुन्दर माला गाँसे जस्तै
फूलकै जोवन पैंचो लिई फूल संगै हाँसे जस्तै

तिमी फूल भयौ म त भई दिन्छु फूलको माली
मनै भरी खुशियाली पाएं हजुर यसैपाली ।

Sunday, September 13, 2009

तिम्रो खुशी

सँगालु झैं लाग्यो तिम्रो खुशी आँचल नै फिजाएर
समेटु झैं लाग्यो तिम्रो सुख अँजुली नै भराएर
पोखिएको लालीमा मुखाकृतिबाट तिम्रो
भावनाले पुछेर अँगालु झैं लाग्यो
छरिएको उजेली दृष्टिहरूबाट तिम्रो
सपनाले सजाएर चम्काउ झैं लाग्यो
तृष्णा, इच्छा, चाहना मिसिएका थिए तिनमा
कलिला आशाहरू हुर्किएका थिए तिनमा
मनको दैलो उघारेर चियाउन मन लाग्यो
सँघारबाट मझेरीसम्म स्वागत गरूँ लाग्यो
चाल मारेर पाइलाहरू पच्छयाउ झैं लाग्यो
तीनै आकांक्षाहरूको सिरानी लाइ सुस्ताउ झैं लाग्यो
यसैगरि रमाउनु तिमी सँधै भरिभरि
आँखा लाग्ला परचक्रीको, नजर नै उतारिदिन्छु
पलपलमै मुस्काउनु मनको चाह भरिभरि
बहहरूले बाधा गर्लान्, बन्धन फुकाइदिन्छु

Thursday, September 10, 2009

गजल

नझारुँ भन्दा भन्दै जब आँशु झर्छ प्रिय
छाँती चित्त सबै सबै फाँटे झै गर्छ प्रिय

झर्दा झर्दै मिठा याद दुःख्दै दुःख्दै बगेर
खोल्सो, खहरे मिशिदै समुन्द्र भर्छ प्रिय

आँशुका ढिका ढिकामा ऐना हेर्दै आफ्नो
प्रतिबिम्बले रुन्चे मुस्कान छर्छ प्रिय

हराए पछि सँगैका पाइलाका दुइ डोब
एक्लो पाइला अगाडी कसरी बढ्छ प्रिय

गड्याङ गुडुङ ढाकिएर कालो बादल
खुसी उडाई दर्किएर पानी पर्छ प्रिय

विश्वाशको आधारलाई फन्न घुमाएर
चित्त दुःखाई कसैले किन सुख हर्छ प्रिय।

तिम्रो नजरमा पनि

तिम्रो नजरमा पनितिम्रो नजरमा पनि दोषी नै भएर बाँच्नुपर्ने भए
म जिउँदो रहनुको अर्थ छैन ।
तर निरर्थक नै जिउने, बानी लागिसकेछ मलाई
किनकी मलाई आत्महत्या गर्ने आँट छैन !
तिम्रो शहरमै बदनामी कमाउन परे
मेरो अस्तित्वको कुनै महत्व छैन ।
तर अस्तित्वविहिनता नै मन पर्न थालेछ कि ? मलाई
तिम्रो रहरको तगारो त ठानीसक्यौ भने
मैले आफुलाई प्रष्टयाउनुको तुक छैन ।
तर म हुनुको शाश्वततालाई कसोरी वेवास्ता गरूँ म ?
तिम्रो खुशियालीमा डढेलो लगाउने श्रेय मैले नै पाईसकें भने
शितको थोपाले शितलता दिने प्रयत्न गर्नु व्यर्थ छ मैले ।
तर भुतभुतिदैं गरेको हेर्न पनि तिमीलाई, कहाँ सक्छु र म ?
तिम्रो मात्र त खति कहाँ भएको हो र ?
मेरो पनि त त्यत्तिक्कै नोक्सानी भएको छ
तर यो हिसावकिताव गर्ने तिम्रो विवेक, म कोसँग सापटी मागुँ ?
तिमीलाई त आफ्नो छहारी सोचेको थिएँ
तर मैले त मेरो शिर उदाङ्र्रग पाएँ
तिमीलाई त मेरो विश्वास ठानेको थिएँ
तर मेरो त भरोसा नै डगमगाएको पाएँ
लाग्थ्यो, संसारले लखेटे पनि तिम्रो अपनत्व साँचिएको हुनेछ मेरा लागि
आफैंदेखि भागेपनि तिमीले नै जोगाउनेछौं, सँगाल्नेछौ मलाई
तर
तर भत्किए सबै आकांक्षाहरू
च्यातिए ती सम्भावनाहरू
भो, मलाई भ्रमको सान्त्वना चाहिएन
शंशकित चाहना पनि चाहिएन
दोधारे मनोवेदना चाहिएन
ढुलमुले कामना पनि चाहिएन
म त यसै बाँचिदिउँला समयको तरङ्गसँगै, तिम्रो परिदृश्यबाट ओझेल बनि
छालसँगै बगिदिउँला उछिट्टिएर पाखै लागेपनि
मलाई सोध्न नआउनु कस्तो छौ भनि
मल्हम पट्टि नल्याउनु झुक्किएर पनि